महाराष्ट्र रेल दुर्घटनामा १२ को मृत्यु, तीन नेपाली नागरिकको ज्यान गयो

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। पचोरा स्टेशन नजिकै पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूमा त्रास उत्पन्न भएको थियो। आगलागीको आशंकामा केही यात्रुले चेन तानेर ट्रेन रोक्न खोज्दा यो घटना भएको हो।

ट्रेन रोकिएपछि डरले यात्रुहरू बाहिर हामफालेका थिए। यसै क्रममा अर्को ट्र्याकमा आइरहेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा १२ जना यात्रुको ज्यान गएको पुष्टि जलगाउँका प्रहरी प्रमुखले गरेका छन्। मृतकहरूमध्ये तीन जना नेपाली नागरिक रहेको पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ज्यान गुमाउने नेपालीहरूमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, र ४३ वर्षीया कमला नवीन भण्डारी रहेका छन्। उनीहरूको ठेगाना भने खुल्न सकेको छैन।

दुर्घटनामा ४० जना घाइते भएका छन्। मध्य रेलवेको भुसावल डिभिजनका अधिकारीहरूले दुर्घटनास्थलमा तीव्र मोड रहेको र यात्रुहरूलाई अर्को ट्र्याकबाट आइरहेको ट्रेनको थाहा नपाएको बताएका छन्।

स्रोतका अनुसार घटनास्थल मुम्बईबाट करिब ४०० किलोमिटर टाढा पर्छ। मृतकहरूको शव जलगाउँको सरकारी अस्पतालमा राखिएको छ। १२ मध्ये ७ जनाको पहिचान भइसकेको छ। मृतकहरूमा ९ पुरुष र ३ महिला रहेका छन्।

प्रतिक्रिया