काठमाण्डौं - रिक्त भएको धितोपत्र बोर्डमा तत्कालका लागि अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव रितेश कुमार शाक्यलाई दिइएको छ।
आवेदन मार्फत छनोटमा परेका पाँचजनाको विषयमा अर्थमन्त्रीले अनिच्छुकता देखाएपछि तत्काल रोकिएका काम गर्नको लागि शाक्यलाई जिम्मेवारी दिइएको हो।
शाक्यले जिम्मेवारी पाएसँगै धितुपत्र बोर्डमा रोकिएर रहेका सम्पूर्ण काम अब अगाडि बढ्ने बाटो खुलेको छ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ ।
यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।