रिडी पावरको हकप्रद आजदेखि

काठमाण्डौं - शेयर बजार प्रति अहिले धेरैको चासो र चिन्ता बढिरहेको छ । प्राथमिक शेयर निष्कासन ठप्प बनिरहेको बेला हकप्रक भने धमाधम निष्कासन भइरहेका छन् । यसै बीच रिडी पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको हकप्रद शेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग तल्लो बलेफि जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्नेछ। त्यसैगरी, बैंकहरुसँग ऋण सम्झौता सम्पन्न हुँदा कम्पनीको ऋण तथा स्वपूँजीको अनुपात ६७.३३ वा सोभन्दा राम्रो हुनुपर्ने प्रावधानका कारण पनि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।

प्रतिक्रिया