सिद्धबाबा सुरुङमार्ग छिचोलियो, निर्माणको प्रगति ४० प्रतिशत

काठमाडौं - पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको काम सफलतापूर्वक छिचोलिएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल सम्बोधनपछि सुरुङको ब्रेकथ्रु सम्पन्न भएको हो। सुरुङ जोड्न १.८ मिटर खन्न मात्र बाँकी थियो।

प्रधानमन्त्री ओली सुरुङ ब्रेकथ्रु कार्यक्रममा व्यक्तिगत रूपमा उपस्थित हुने योजना भए पनि स्वास्थ्यका कारण अन्ततः भर्चुअल रूपमा सम्बोधन गरे। कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, यातायातमन्त्री देवेन्द्र दाहाल, तथा अन्य सरकारी अधिकारीहरूको उपस्थिति थियो। आयोजनाका अनुसार सुरुङ छिचोलिएसँगै भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ।

आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग १,०८९ मिटर लम्बाइको रहेको छ। मुख्य सुरुङको चौडाइ साढे १० मिटर र उचाइ ७ मिटर रहेको छ। लाइनिङसहित यो सुरुङको कुल लम्बाइ १,१२६ मिटर हुनेछ। उत्तरतर्फ ४८० मिटर र दक्षिणतर्फ ६०७ मिटर सुरुङ खनिएको थियो।

हाल सुरुङमार्ग छिचोलिए पनि लाइनिङ र स्लोप मिलाउन समय लाग्ने छ। निर्माण व्यवसायीले समयमै काम गरे पनि सवारी सञ्चालन गर्न एक वर्ष अझै लाग्नेछ। आपत्कालीन अवस्थाका लागि सुरुङमा तीनवटा बाइपासहरू पनि निर्माण गरिएका छन्, जसको लम्बाइ १५१ मिटर, १६१ मिटर, र १३० मिटरछ।

प्रतिक्रिया