काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ का लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार परीक्षा चैत ७ गतेदेखि सुरु भई चैत १९ गते मंगलबार सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
पहिलो दिन अनिवार्य विषयको परीक्षा हुनेछ। यस दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, मदरसातर्फ अनिवार्य अरेबिक भाषा, अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली विषयको परीक्षा तोकिएको छ।
परीक्षाको नतिजा २०८२ साल असार ६ गतेभित्र प्रकाशित गरिने योजना रहेको छ। साथै, परीक्षार्थीले परीक्षा आवेदन फाराम भर्दा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कन्ट्रोल लिस्टसँग मिलान गरी कुनै त्रुटि भेटिएमा सम्बन्धित विद्यालयले २०८२ साल वैशाख मसान्तभित्र संशोधन गर्नुपर्ने सूचनामा उल्लेख छ। यसका लागि शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै कार्यालयमा सूचना पठाउन अनुरोध गरिएको छ ।