केही समयअघि सिमा नेपालीको स्वर र कल्पना क्षेत्रीको अभिनयमा सार्वजनिक भएको यो गीतलाई दर्शकहरूले निकै मन पराएका थिए। परदेशमा बस्ने नेपालीको जीवन र भावना बोल्ने यो गीतले धेरैको मन छोएको थियो।
अब यसै गीतलाई जापानमा बसोबास गरिरहेका युवा सर्जक र गायक प्रेम सापकोटा सोनुले आफ्नै स्वरमा पुनः गाएका छन्। उनले गीतको लय र शब्द पनि आफैंले सिर्जना गरेका हुन्। प्रेमका अनुसार, यो गीत धेरै नेपालीहरूको वास्तविकतासँग मेल खाने भएकोले व्यवसायिक उद्देश्यभन्दा पनि मौलिकता जोगाउन उनले पुरुष संस्करण ल्याएको बताए।
गीतमा केही शब्दहरूमा परिवर्तन गरिएको छ भने लय भने उस्तै राखिएको छ। अडियो तथा भिडियो दुवै जापानमै तयार गरिएको हो। गीतमा सागर विरहीले संगीत संयोजन गरेका छन्।
भिडियो पनि निकै आकर्षक बनेको छ। जापानमा सीमित स्रोतसाधनका बीच निर्माण गरिएको यो म्युजिक भिडियोमा मोडल शुशिल भण्डारीले अभिनय गरेका छन्, जसको अभिनयलाई पनि दर्शकहरूले रुचाइरहेका छन्।
गीतलाई तेजेन्द्र भण्डारीले निर्देशन गरेका हुन् र प्रेम सापकोटा सोनुको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। विदेशमा रहेका नेपालीहरूका माझ यो गीत अहिले लोकप्रिय बन्दै गएको छ।