नेपालले गुजरातलाई ८ विकेटले हरायो

काठमाडौँ । भारतमा जारि त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई नेपालले आठ विकेटले हराएको छ । 

पहिला ब्याटिङ गरेको गुजरातले १८।२ ओभरमा अलआउट भइ ९८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा  नेपालले १५।२ ओभरमा  दुई विकेट गुमाएर विजयी भएको हो । 

नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक(एक विकेट लिए ।

त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । 

नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । उनले ३।२ ओभरमा २२ रन खर्चिए । सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए ।

छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे । अभिषेक देसाईले ११ रन बनाए । समित पटेलले १० रन बटुले । गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो । नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ ।

प्रतिक्रिया