काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई ४ किस्तामा नवीकरण शुल्क तिर्ने सुविधा दिएर लाइसेन्स नवीकरण गरेको हो।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार, एनसेलले प्रतिकिस्ता ५ अर्बको दरले २०८४ भित्र ब्याजसहित बाँकी रकम तिर्नुपर्नेछ। एनसेलले हालसम्म ५ अर्ब बुझाइसकेको छ, जसमा जेठ १४ गते ४ अर्ब र हिजो थप १ अर्ब बुझाएको थियो। अब बाँकी ३ किस्ता ब्याजसहित २०८४ भित्र बुझाउनु पर्नेछ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले एनसेललाई २० अर्ब रुपैयाँ नवीकरण शुल्क तथा ब्याज ४ किस्तामा तिर्ने सुविधा दिएर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि भदौ १५ गते सकिएको एनसेलको लाइसेन्स म्यादलाई पुनः ५ वर्षको लागि नवीकरण गरिएको हो।