पश्चिम नेपालको लाइफलाइन मानिने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डस्थित दाउन्नेमा लगातार पहिरो खस्दा तीन दिनमै २६ घण्टा सडक अवरुद्ध भएको छ। लगातार वर्षा हुँदा पहिरो खस्ने मात्र नभई सडक खुलेका बेला पनि चिप्लो र हिलाम्य हुँदा १४ किलोमिटर दूरी पार गर्न १६ घण्टासम्म लागेको यात्रुहरूले बताएका छन्। दसैँ नजिकिँदै गर्दा गाउँघर लाग्ने यात्रु घण्टौँ जाममा पर्न बाध्य भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार पछिल्लो पटक बुधबार दिउँसो १२:४० मा दाउन्नेको विश्वकर्मा बाबा मन्दिरनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। चार घण्टापछि सडक खुले पनि बिहीबार साँझ ६ बजे खुर्सानी खोलामा पुनः पहिरो खसेपछि शुक्रबार दिउँसो १ बजेसम्म सडक बन्द रह्यो। अझै सोही दिन ६५ मोडनजिकै अर्को पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भयो। अन्ततः दिउँसो ४ बजे मात्र सडक पूर्ण रूपमा खुलाइएको थियो।
सडक अवरुद्ध हुँदा दाउन्ने सडकखण्डको बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटर क्षेत्रमा ठूलो जाम लागेको थियो। यात्रुवाहक बस, ट्रक, लरी, साना गाडी, एम्बुलेन्स र शववाहनसमेत जाममा फसे। सामान्य अवस्थामा दैनिक पाँच हजार गाडी गुड्ने यस सडकमा दसैँ नजिकिँदा चाप अझै बढेको छ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेका अनुसार गत जेठमा सडक विस्तारका लागि काटिएको भित्ता अहिले वर्षा हुँदा पहिरोका रूपमा खसिरहेको छ। ‘काटिएको भित्तामा पर्खाल लगाउने काम भएको छैन, त्यहीँबाट पहिरो खसिरहेको छ,’ उनले बताए। उनका अनुसार दाउन्नेको १४ किलोमिटर सडकमध्ये ६ किलोमिटर मात्र पिच गरिएको छ, बाँकी ८ किलोमिटर कच्ची भएकाले सामान्य वर्षा हुँदा पनि चिप्लो र हिलाम्य बन्छ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीलाई दसैँअगाडि दाउन्ने सडक ढलान वा पिच गर्न निर्देशन दिइए पनि अहिलेसम्म काम भएको छैन। प्रमुख जिल्ला अधिकारी पाण्डेले शनिबार बैठक बसेर यस विषयमा थप छलफल गर्ने बताएका छन्। सडक आयोजनाका प्रमुख इन्जिनियर चुडाबहादुर ढकालले दसैँअघि दाउन्नेमा नयाँ संरचना निर्माण हुने सम्भावना नरहेको बताए।
सात वर्षअघि सुरु गरिएको नारायणगढ–बुटवल सडक विस्तारको म्याद अहिलेसम्म चारपटक थपिएको छ। सुरुको सम्झौताअनुसार २०७९ असारमै काम सकिनुपर्ने भए पनि हालसम्म ७२ प्रतिशत मात्र प्रगति भएको छ। दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्ड अझै अधुरो रहेकाले यात्रुहरूलाई सर्वाधिक सास्ती भोग्नुपरेको हो।
जाममा परेका यात्रु र चालकले भोगेका पीडा झनै मार्मिक छन्। काठमाडौंबाट बुटवल फर्किरहेका विद्यार्थी सुशील पाण्डे शुक्रबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म दुम्कीबासमै जाममा अड्किए। भैरहवाबाट बिरामी लिएर हिँडेका एम्बुलेन्स चालक कृष्णप्रसाद तिवारीलाई दाउन्ने पार गर्न नौ घण्टा लाग्यो। उनीसँगैको शववाहनलाई पनि आठ घण्टा लाग्यो। भारतको हैदराबादबाट आएको लरीचालक सन्तोष यादवले दाउन्ने छिचोल्न १६ घण्टा खर्चिनुपरेको अनुभव सुनाए।
दसैँ नजिकिँदै गर्दा दाउन्ने सडकखण्ड अझै ठप्प हुन सक्ने चिन्ता बढ्दै गएको छ।