काठमाण्डौ – सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो। जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमका विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रन बनाए भने सेफ अली जेबले ३२ रनको योगदान दिए। जनकपुरका ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरका जेम्स नीशमले ४५ रन बनाए भने सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार बलिङ गर्दै ३ विकेट लिए।
अब जनकपुरले फाइनलमा प्रवेश गर्न बिहीबार दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ। उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा सुदूरपश्चिमसँग शनिबार भिड्नेछ।
यसअघि बुधबार बिहान इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।