काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै कारणले हाल देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोशी, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।