काठमाडौं – आकर्षक तलब र वैदेशिक रोजगारीको आश्वासन दिएर बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ साथै एक जनालाई पक्राउ गरेको छ ।
फरार व्यक्तिको नाम विकास किसान हो। उनी म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ निवासी धनबहादुर किसानका छोरा हुन्। हाल उनी काठमाडौं महानगरपालिका वडा नम्बर २० मित्रनगरमा बस्दै आएका छन्।
विकास किसानले म्याग्दी, बागलुङ पर्वत लमजुङ लगायतका विभिन्न जिल्लाका व्यक्तिहरूलाई क्रोसिया, माल्टा, सर्बिया र पोल्यान्ड जस्ता देशमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ठगी गरेका थिए। उनले पीडितहरूबाट लाखौं रकम र पासपोर्ट लिएर सम्पर्कविहीन भएका छन्।
पीडितहरूका अनुसार विकासले काठमाडौं उपत्यका तथा अन्य जिल्लाका व्यक्तिहरूलाई आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर ठगी गरेका थिए। उनले बागलुङ काठेखोला गाउँपालिकाका हरि सुनार र म्याग्दी रघुगङ्गा गाउँपालिकाका अनुसा विकसहित दर्जनौँ पीडितबाट दुई/दुई लाख रुपैयाँ र पासपोर्ट लिएको जनाइएको छ।
सम्पर्कविहीन भएपछि पीडितहरूले बारम्बार खोजी गर्दा उनले उल्टै धम्की दिने गरेका थिए। ठगीका घटनाहरू उजागर भएपछि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिसकेको छ।
प्रहरीले विकास किसानको गतिविधिको अनुसन्धान गरिरहेको जनाएको छ। पीडितहरूले उनलाई कानुनी कारबाहीको माग गरेका छन्।
पक्राउ पुर्जी जारी गरिएका किसानले ठगी गरेको रकम लाखौं रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले यस्ता ठगीको शिकार हुनबाट जोगिन सचेत रहन तथा कुनै पनि प्रकारको शंकास्पद प्रस्तावको उजुरी दिन अनुरोध गरेको छ।