सांकेतिक तस्विर
बागलुङ- बागलुङको बडिगाड गाउँपालिकामा सोमबार रातिदेखि परेको वर्षापछि गएको पहिरोमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका-९ बलघाँसमा मंगलबार बिहान खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको ज्यान लिएको छ। पहिरो पन्छाउने क्रममा विधानको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
वडा नं १० आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती र मधु बुढा, १३ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा, सञ्जु बिककी ६ वर्षीया छोरी, र ५९ वर्षीया मैतीदेवी बिकको ज्यान गएको छ।
घटनामा ४ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। लगातारको वर्षाले उद्धारमा कठिनाइ भएको र उद्धार टोली पैदल जान बाध्य भएको जनाइएको छ।