मोरङमा दुई नाबालिकाको शव केराघारीमा फेला: विष खुवाएर हत्या भएको शंका

काठमाडौं - मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराघारीभित्र शनिबार दिउँसो साढे ४ बजेतिर दुई जना नाबालिकाको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, धनकुटा पाख्रिबास नगरपालिका–४ डिकुरेका ३१ वर्षीय अर्जुन कार्कीका १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया छोरी आयिका मृत अवस्थामा फेला परेका हुन्। 

उनीहरू आफ्नी दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए, जहाँ अर्जुन र उनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने पनि सँगै बस्थे। नयाँ घर निर्माण भइरहेको स्थान नजिकै रहेको केराघारीमा दुई नाबालिकाको शव अँगालो मारेको अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानले शुक्रवार साँझ पति–पत्नीबीच विवाद भएको देखाएको छ। 

स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला पारेको छ। डीएसपी बस्नेतले दुवै बालिकालाई विष खुवाइएको हुन सक्ने अनुमान गरेका छन्। आमा अस्मिता सम्पर्कविहीन भएकीले शंका झनै बढाएको छ। 

बुवा अर्जुन प्रहरीको सम्पर्कमा रहेका छन् भने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएका छन्। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय