मलेखु – धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा आएको पहिरोबाट आज २१ जनाको शव फेला परेको छ। उद्धार टोलीले बिहानैदेखि सक्रिय रूपमा खटिएर १७ पुरुष र ४ महिलाको शव निकाल्न सफल भएको हो। अहिलेसम्म पहिरोमा परि ३५ जनाको ज्यान गएको पुष्टि भएको छ।
शनिबार रातिसम्म १४ वटा शव फेला परेका थिए भने आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिएका छन्।
सडकमाथिबाट खसेको पहिरोले पुरिएका व्यक्तिहरूको उद्धार कार्य जारी छ। पहिरोमा ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) भेटिएका छन्। शनिबार लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान) पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो। अन्य सवारी साधनहरू पनि पुरिएको हुनसक्ने आशंका गर्दै उद्धार कार्य जारी रहेको छ।
सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिएका छन्। शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोका कारण तनावग्रस्त बनेको छ।