काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय पुराना तथा पाका सर्जक हेमन्त खड्काले यो वर्ष पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएका छन् । केही समयअघि 'एउटा छोरो' बोलको गीत सार्वजनिक गरेका खड्काले आफ्नो जन्मथलोमा भर्खरै मात्र दुई गीतको भिडियो निर्माण गरेका छन् ।
असार महिना र रोपाइँको विषय समेटेर 'गैरी खेतमा धान' बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ भने माया प्रेमलाई विषय बनाएर 'तील पेलेर तेल' बोलको गीतको भिडियो निर्माण गरिएको छ । लगातार दुई दिन लगाएर भिडियो निर्माण गरिएको खड्काले आर्थिक सन्देशलाई जानकारी दिए ।
हेमन्त खड्काको लय तथा शब्द सिर्जनामा आधारित 'गैरी खेतमा धान' बोलको गीतमा उनलाई आवाजमा देवी घर्तीले साथ दिएकी छन् भने अभिनयमा समेत खड्कालाई देख्न सकिन्छ । उनलाई अभिनयमा यशु भट्टराईले साथ दिएकी छन् ।
त्यस्तै, 'तील पेलेर तेल' बोलको गीतमा भने खड्कालाई आवाजमा अस्मिता डल्लाकोटीले साथ दिएकी छन् । सो गीतमा पनि खड्काले आफैँ लय तथा शब्द सिर्जना गरेका हुन् । गीतमा सञ्चारकर्मी कृष्ण आचार्य र यशु भट्टराईको अभिनय रहेको छ । दुवै गीतको निर्देशन युवा निर्देशक प्रेम थापाले गरेका छन् ।
खड्काले आर्थिक सन्देशलाई दिएको जानकारीअनुसार 'गैरी खेतमा धान' बोलको गीत यही महिनाको अन्त्यसम्म सार्वजनिक गर्ने तयारी रहेको छ ।