१० अर्बको नयाँ पुनर्बीमा कम्पनी, को हुन् लगानीकर्ता ?

काठमाडौं– १० अर्ब रुपैयाँको नयाँ पुनर्बीमा कम्पनी ल्याए पछि धेरैलाई यसका लगानीकर्ताको विषयमा चासो रहेको छ । बीमा समितिले पुनर्बीमा कम्पनी सञ्चालनका लागि आवेदन आह्वान गरे पछि पाँच कम्पनी प्रतिस्पर्धामा थिए ।

ती मध्ये हिमालयन रि–इन्स्योरेन्सले अनुमति पाएको थियो । उक्त कम्पनीमा निजी क्षेत्रका प्रतिष्ठित व्यापारी सहित प्रधानमन्त्री ओलीसँग निकट रहेका व्यवसायी र दुई बैंकको लगानी रहेको छ । १० अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा ७० प्रतिशतले हुन आउने सात अर्ब निजी क्षेत्रका व्यक्तिले लगानी गरेका छन् भने ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँको आईपीओ जारी गर्नेछन् ।

हिमालयन पुनर्बीमा कम्पनीको संस्थापक लगातीकर्ता एक सय भन्दा बढी छन् । ती लगानीकर्ताले ४४ वटा कम्पनीमार्फत लगानी गरेका छन् । पुनर्बीमा कम्पनीमा सबैभन्दा धेरै लगानी उद्योगपति साहिल अग्रवालको रहेको छ । साहिलले आफ्ना विभिन्न कम्पनी मार्फत डेढ अर्ब रुपैयाँ लगानी गरेका छन् । साहिलले जगदम्वा स्टिल प्रा.लीको तर्फबाट २२ करोड, जगदम्वा मोटर्सको तर्फबाट ३२ करोड, किर्ती एपेक्सको, बंडर भेन्चर्स, उज्जीवन मर्चेन्ट, अजन्ता होल्डिङको तर्फबाट १०÷१० करोड, कारवी ग्लोबल, अटल क्यापिटल, एकाँर्ड क्यापफिन र कालिका फिनकोर्फको तर्फबाट १३.५०÷१३.३० करोड रुपैयाँ लगानी रहेको पाइएको छ ।

संस्थागत रुपमा सबैभन्दा धेरै लगानी गर्नेमा दुई बैंक रहेका छन् । नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले ५०–५० करोड रुपैयाँ लगानी गरेका छन् । व्यक्तिगत रुपमा धेरै लगानी गर्नेमा प्रधानमन्त्री केपी ओलीसँग निकट रहेका व्यवसायी दीपक भट्ट रहेका छन् । भट्टले आफ्नो कम्पनीमार्फत ५० करोड रुपैयाँ लगानी गरेका छन् । उनले इन्फिनिटी होल्डिङ्स प्रालिको तर्फबाट लगानी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष सतिष मोर लगायतका व्यवसायीको पनि ठूलो लगानी छ । गोल्छाले हंशराज हुलास चन्द एण्ड कम्पनी प्रा.लीको तर्फबाट भने २० करोड रुपैयाँ गरेका छन् । मोरले आफ्ना छोरा अमित मोरकोतर्फबाट लगानी गरेका छन् ।

मोरको गणपति वनस्पति प्रालीको तर्फबाट २२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । अमित मोरको नाममा भने २ करोड ५० लाख रुपैयाँको शेयर रहेको छ ।

रोहित गुप्ताले पनि टेलिडाइरेक्ट प्रा.लीको तर्फबाट ५ करोड, लुम्बिनी विद्युत उद्योगको तर्फबाट २ करोड, टेलिकम प्रालीको तर्फबाट २ करोड, युनिभर्सल इलेक्ट्रोकम प्रा.लीको तर्फबाट एक करोड रुपैयाँ लगानी रहेको छ । सेफ्रन सिके इनभेष्टमेन्टको तर्फबाट प्रकाश पौडेलको २० करोडको लगानी रहेको छ ।

प्रतिक्रिया