६ बीमा कम्पनी थपिँदै, यस्ता छन् नयाँ कम्पनी

काठमाडौं–१० अर्ब पुँजी भएको रिइन्स्यारेन्स कम्पनीलाई अनुमति दिएको बीमा समितिले फेरी आधा दर्जन नयाँ बीमा कम्पनीलाई अुनुमति दिने तयारी गरेको छ तीन जीवन र तीन निर्जीवन बिमा कम्पनी थप्ने तयारी गरेको हो ।

समितिले जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियाको सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । समिति स्रोतका अनुसार स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स, शुभ लाइफ इन्स्योरेन्स, शुभ जनरल इन्स्योरेन्स र मनकामना इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाइएको छ । जीवन बिमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको सहमति चाहिने भए पनि निर्जीवन बिमा कम्पनीलाई समिति आफँैले लाइसेन्स दिन सक्छ ।

यतिवेला नयाँ बिमा कम्पनीसँगै दशक अगाडि नै दर्ता भएका पुराना कम्पनी पनि लाइसेन्सका लागि लबिङ गरिरहेका छन् । सञ्चालन अनुमतिको पर्खाइमा रहेको जीवन बिमा कम्पनीमध्ये शुभ जनरल इन्स्योरेन्स मात्रै नयाँ कम्पनी हो । तर, युनी लाइफ र स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स भने ०६४÷६५ सालमा नै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनी हुन् । त्यस्तै, निर्जीवन बिमा कम्पनीमध्ये मनकामना जनरल इन्स्योरेन्स पनि दशकअगाडि दर्ता भएको कम्पनी हो । तत्कालीन बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले नेपालको बिमा बजार सानो भएका भन्दै नयाँ कम्पनीलाई लाइसेन्स वितरणमा रोक लगाएपछि यी कम्पनीहरू निष्क्रिय थिए ।

तर, ०७३ सालमा समितिको अध्यक्षमा नियुक्त भएका चिरञ्जीवी चापागाईंले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका सबै कम्पनीलाई लाइसेन्स वितरण गरे । चापागाईंले ०७४ साल वैशाखमा दर्ता भएका कम्पनीलाई २१ दिनभित्र कागजपत्र अद्यावधिक गरी ल्याउन निर्देशन दिए । तर, सो अवधिमा भित्र पनि कागजपत्रको प्रक्रिया पूरा गर्न नसकेका कारण स्ट्यान्डर्ड लाइफ, युनी लाइफ र मनकामना जनरल इन्स्योरेन्सले लाइसेन्स पाउन सकेनन् । तत्कालीन समयमा लाइसेन्स नपाएका कम्पनीसँगै नयाँ कम्पनी शुभ लाइफ, शुभ जनरल इन्स्योरेन्स र अभियान जनरल इन्स्योरेन्स पनि दर्ताको तयारीमा छन् ।

सञ्चालन अनुमतिका लागि लबिङ गरिरहेका बिमा कम्पनीहरूमा सर्वसाधारणदेखि ठूला व्यावसायिक घरानासमेतको लगानी रहेको छ । स्ट्यान्डर्ड जीवन बिमा कम्पनीमा चौधरी समूहको लगानी रहेको छ । युनी लाइफ इन्स्योरेन्स कम्पनीमा ओम सिंहको लगानी रहेको छ । बिमा क्षेत्रमा धेरै जानकारी राख्नेमध्येमा सिंह पनि पर्छन् ।

शुभ लाइफ इन्स्योरेन्स कम्पनीमा बैंक, विश्वविद्यालयदेखि व्यवसायीहरूको लगानी रहेको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब तथा चुक्ता पुँजी ३ अर्ब ५० करोड रहने कम्पनीका लगानीकर्तामध्येका एक ऋषिराम चापागाईंले बताए । उनका अनुसार कम्पनीमा कृषि विकास र मेगा बैंकको २५–२५ करोड रुपैयाँ लगानी रहेको छ । रिद्धिसिद्धी ज्वलेर्सको ७५ करोड, तीनवटा विश्वविद्यालयको ५० करोड लगानी रहेको कम्पनीका लगानीकर्ता चापागाईंले बताए । उनका अनुसार कम्पनीको अध्यक्षमा पोषराज सुवेदी रहेका छन् । सुवेदीले यसअघि पनि विभिन्न बिमा कम्पनीमा लगानी गरेका छन् । सोही समूहले शुभ जनरल इन्स्योरेन्स कम्पनी दर्ताका लागि समितिको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको सञ्चालक चापागाईंले बताए ।

शुभ लाइफ इन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको लगानीकर्ता चापागाईंले बताए । उनका अनुसार कम्पनीले बिमा समितिमा कागजपत्र बुझाइसकेको छ । ‘समितिले सहमतिका लागि कागजपत्र अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले पनि स्वीकृति दिने शतप्रतिशत निश्चित छ । त्यसपछि सञ्चालकहरू जुटाए पनि समितिले लाइसेन्स दिइहाल्छ,’ उनले भने । शुभ लाइफ इन्स्योरेन्सका लगानीकर्ता चापागाईंका अनुसार स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्सले पनि लाइसेन्स पाउने निश्चित छ ।

समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीसहित साना लगानीकर्ताको लगानीमा अभियान जनरल इन्स्योरेन्स सञ्चालनको तयारीमा छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने सञ्चालकमध्येका एक कार्कीले बताए । मनकामना जनरल इन्स्योरेन्समा खुमा अर्याललगायतको लगानी रहेको छ । कम्पनीमा मनकामना केबलकार सञ्चालक लक्ष्मणबाबु श्रेष्ठसहितको लगानी रहेको अर्यालले बताए ।

बिमा समितिले पुनः बजारको अध्ययनविना नै लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । यसअघि पनि बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले एकैपटक १३ वटा बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएका थिए, जसको चौतर्फी आलोचना भएको थियो ।

चापागाईंपछि समितिको अध्यक्षमा नियुक्त भएका सूर्यप्रसाद सिलवालले फेरि नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्ने तयारी गरेका छन् । राजनीतिक दबाबमा नै कम्पनीलाई लाइसेन्स वितरण गर्न लागिएको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया