सबै एफएमहरुलाई विद्युत महसुलमा सहुलियत दिन्छौं - मन्त्री भुसाल

काठमाडौं - ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले सबै रेडियोलाई विद्युत महसुलमा छूट दिइने प्रतिबद्धता जनाउनु भएको छ । 

विद्युत नियमन आयोगले केही रेडियोलाई मात्र छुटको व्यवस्था गरेपछि स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । संस्थाका उपाध्यक्ष उज्जवल चौलागाई र कार्यालय सचिव कृष्ण आचार्यले आज मन्त्रीलाई सो ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । 

पत्र बुझ्दै मन्त्री भुसालले आफूहरु सबै मिडियाले छूट पाउन भन्नेमा रहेको बताउँदै अबको संशोधनमा सबै रेडियोलाई छुटको ब्यबस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

मन्त्रीसँग भेटपछि आर्थिक सन्देससँग कुरा गर्दै उपाध्यक्ष चौलागाईंले आफ्नो मागलाई मन्त्री ज्यूले सकारात्मक रुपमा लिएको र अब हुने संशोधनमा सबै रेडियो समावेश हुने  बताउनु भयो । 

साथै सोही अवसरमा रेडियोमा प्राधिकरणले बिना जानकारी  विद्युत लाइन काट्ने गरेको बारेमा पनि कुरा उठाइएको  थियो । अरु निकायले जस्तै मिडियाले पनि बाँकी शुल्क किस्तामा बुझाउन पाउनु पर्ने माग एसोसिएसनले राखेको छ । अत्यावश्यक सेवाका मिडियाको विद्युत लाईन नकाट्ने समेत अनुरोध गरिएको छ । 

प्रतिक्रिया