काठमाडौं– विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारका लागि करिब ५० लाख रुपैयाँ बढी संकलन भएको छ । मेडीसिटिमा उपचार गराइरहेका थापाको उपचारमा सघाउन सहयोग संकलन अभियान चलाइएको थियो ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेका अनुसार शनिवार साँझसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको परिवारले जानकारी दिएका छन् । पाण्डेले सामाजिक सञ्जालमार्फ उक्त जानकारी गराएका हुन् । ५० लाख उठे पछि आर्थिक सहयोग संकलन बन्द गरेको जनाएका छन् ।
यसअघि थापाको उपचारमा विएण्डबी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले गर्ने भनेको सहयोग परिवारले अस्वीकार गरेको छ । दुर्गा प्रसाईँले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्दै थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने जनाएको छ । प्रसाईँले शनिवार एक विज्ञप्ति प्रकाशित गरी थापाको उपचार व्यहोर्ने घोषणा गरेका थिए ।
थापाको परिवारजनका तर्फबाट शनिबार विज्ञप्ति जारी मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको हो ।
विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन् ।