मनसुनको प्रभावले देशभर बदली र वर्षाको सम्भावना, बाढी पहिरोको जोखिममा सतर्कता अपनाउन आग्रह

काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहँदा देशभर मनसुनी वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यससँगै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ। दिउँसो देशभर साधारणतया बदली रहने र केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेकोले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राति पनि आंशिक देखि सामान्य बदलीको स्थिति रहन सक्ने र कोशी, बागमती, गण्डकी लगायतका प्रदेशमा वर्षाको सम्भावना रहेको छ। साथै, बाढी, पहिरो र भू-क्षयको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया