माधब क्याम्पमा सांसद बढे, यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका ३० सांसद

काठमाडौं –नेकपा एमाले विभाजन हुने करिव निस्चित जस्तै भएका बेला वरिष्ठ नेता माधब कुमार नेपालको पक्षमा सांसद बढेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । ओलीले संसदबाट विश्वासको मत लिने बेला २८ सांसद अनुपस्थित भएकोमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दा ३० जना पुगेका छन् ।

माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर गरेको दावी गरिन् । उनले हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको बताइन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकोमा यो संख्या अहिले थपिएको हो । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय