काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग चार विकेटले पराजित भयो। प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै १८ रन जोडेसँगै क्यानडाले सहजै जित हात पार्यो।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो। नेपालका अनिल साह र आशिफ शेखले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे।
अनिल साहले पहिलो ओभरमै दुई चौका प्रहार गरी राम्रो सुरुआत गरेका थिए। दोस्रो ओभरमा आशिफले एक रन लिएर साहलाई स्ट्राइक दिए, जसले लगातार तीन बलमा छक्का प्रहार गरे।
तेस्रो ओभरमा आशिफले एक चौकासहित ६ रन बटुल्न सफल भए भने चौथो ओभरमा थप ७ रनको योगदान दिए। पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे। छैठौं ओभरमा दुई चौका प्रहार गर्दै नेपालले ‘पावरप्ले’मा ९.३३ रन प्रतिओभरको औसतले ५६ रन बनायो।
पावरप्लेपछि नेपालको रन गति सुस्त भयो। सातौं ओभरमा ४ रन र आठौं ओभरमा ६ रन थपिए। नवौं ओभरमा ४ रनको योगदान गरेपछि नेपालले विना विकेट ७० रन बनायो।