माधब नेपालले भने- राष्ट्रिय सभा निर्वाचनमा बादललाई सहयोग गर्न सकिँदैन

काठमाडौं—नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनमा राम बहादुर थापालाई सहयोग गर्न नसक्ने बताएका छन् । नेपाललाई भेट्न कोटेश्वर पुगेका थापालाई नेपालले यस्तो बताएका हुन् । उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा नेपालले स्पष्ट पारेको उनको सचिवालयले जनाएको छ ।

नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी दिएका छन् । मिडियामा प्रचार भए जस्तो नेपालले थापालाई सहयोग गर्ने आश्वासन दिएको कुरामा भ्रम नपर्न नेपालको सचिवालयले आग्रह गरेको छ ।

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपाल समूहले बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देवकोटालाई उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समर्थनमा नेपालले आफू पक्षीय देवकोटालाई उम्मेदवार बनाएकाले यस्तो अडान लिएका हुन् ।

खिमलाल देवकोटालाई मत दिन नेकपा माओवादीले आग्रह गरेको छ । माओवादी बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आग्रह गरेका हुन् । डा. देवकोटा नेपाली कांग्रेस, माओवादीसहितका विपक्षी गठबन्धनका उम्मेदवार हुन् । थापालाई राप्रपाले पनि सहयोग गर्ने भएको छ । निर्वाचन ६ जेठमा हुँदैछ ।

प्रतिक्रिया