अक्सिजन अभावले उपत्यकाका ११ अस्पतालद्वारा उपचार गर्न नसक्ने घोषणा

काठमाडौं—कोभिडका विरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन चरम अभाव भए पछि उपत्यकाका ११ अस्पतालले उपचार गर्न नसक्ने जनाएका छन् । सरकारले अक्सिजनका लागि व्यवस्थापन नगरे पनि उपचारबाट पछि हट्नु पर्ने बाध्यता आएको ती अस्पतालले बताएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुरले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन् । यस्तै, ओम अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, हिमाल अस्पताल, नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् । अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न नसकिने उनीहरुको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरको कोटा छुट्याएपछि अस्पतालहरुले संक्रमितको उपचार भर्ना गर्न नसक्ने भन्दै धमाधम हात उठाएका छन् । सिसिएमसीले अस्पतालमा बिरामीको चाप नहेरी अक्सिजनको कोटा छुट्याएको पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यको गुनासो छ ।

पाटन अस्पतालको लागि दुईदिन अघि सरकारले ४०० वटा अक्सिजन सिलिण्डरको कोटा छुट्याए पनि २०० सिलिण्डरमात्र प्राप्त गरेको उनले सुनाए । थप २०० सिलिण्डर उपलब्ध नगराएको उनको भनाइ छ । पाटन अस्पतालमा कोभिड र ननकोभिड बिरामीका लागि दैनिक ५०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० बेड भएका अस्पताललाई अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । यद्यपि निजी अस्पतालले छोटो समयमा अक्सिजन प्लान्ट व्यवस्थापन गर्न नसक्ने सुमेरु अस्पतालका प्रवन्ध निर्देशक तथा निजी अस्पताल सञ्चालकहरुको संस्था ‘एसोसिएसन अफ प्राइभेट हेल्थ अर्गनाइजेसन नेपाल’ (अफिन) का महासचिव हेमराज ढकाल बताउँछन् ।
निजी अस्पतालहरू सामूहिक रुपमा अक्सिजन प्लान्ट बनाउने योजना बनाएका छन् । अफिनले कोरोना महामारीमा नागरिकप्रतिको दायित्व भन्दै संयुक्त रुपमा प्लान्ट बनाउनेबारे छलफल थालेको अफिनका महासचिव ढकालले जानकारी दिए । प्लान्ट स्थापना सम्बन्धी जानकारी लिन विज्ञसँग छलफल भइरहेको उनले बताए ।

सरकारले भनेअनुसार १५ दिनमा प्लान्ट गर्न नसके पनि छिटै काठमाडौं उपत्यकामा दैनिक ५ हजार सिलिण्डर अक्सिजन उत्पादनको गृहकार्यमा निजी अस्पताल लागेको उनले सुनाए ।
नेपालमा दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । ८ हजार सिलिण्डर भनिए पनि प्रत्येक दिन कुनै न कुनै प्लान्ट मर्मतसम्भार भइराख्ने भएकाले त्यसमा केही कम हुने अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष शारडा बताउँछन् ।

प्रतिक्रिया