सरकार बनाउन बाबुराम भट्टराईको नयाँ प्रस्तावले राजनीति तरंगित

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरिरहेका बेला पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नयाँ प्रस्ताव ल्याएका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने बताउँदै आएका भट्टराईले नयाँ प्रस्ताव ल्याए पछि राजनीति फेरी तरंगित भएको छ । वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन्।
यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ । यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वतः गएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पटकपटक प्रधानमन्त्री भइसकेका छन्।
भट्टराई पनि यसअघि नै प्रधानमन्त्री भइसकेका छन्। उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनको दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव अहिलेसम्म प्रधानमन्त्री भएका छैनन्।
देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने भट्टराईको प्रस्ताव छ । साथै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनी बताउँछन्।
बुधबार बिहान ट्वीट गर्दै भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन्। उनले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सारेका हुन्।

भट्टराईको दल जसपाभित्र वैकल्पिक सरकार गठनमा विवाद देखिएको छ । कांग्रेस सभापति देउवाले नयाँ सरकार बनाउने गरी गृहकार्य गरिरहेका छन् तर जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष वैकल्पिक सरकार निर्माण गरेर जाने पक्षमा देखिएको छैन।

प्रतिक्रिया