अरुण भ्यालीको शेयर खरिदमा आवेदन दिने म्याद एक साता थपियो

काठमाण्डौ -अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदमा आवेदन दिने म्याद एक साता थप गरिएको छ । कम्पनीले गत वैशाख ६ गतेबाट साढे ५२ करोड रुपैयाँबराबरको हकप्रदमा आवेदन खुला गरेको छ । यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो । कम्पनी सचिव रञ्जु अधिकारीले विहीवार एक विज्ञप्ति प्रकाशित गरी यो हकप्रदमा आवेदन दिने म्याद आउँदो जेठ २ गतेसम्म थप गरिएको हो ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै हकप्रदमा आवेदन दिने समय थप गरेको जनाएको छ । कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद निष्कासन गरेको छ ।

हकप्रदका लागि अरुण भ्यालीले गत चैत ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुले अरुण भ्यालीको हकप्रदमा आवेदन दिन पाउनेछन्। अरुण भ्याली हाइड्रोपावरको हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत फागुन २५ गते निष्कासन अनुमति दिएको थियो।

प्रतिक्रिया