आज ६० करोडको आईपीओ निष्कासन, कति कित्ता भर्ने ?

काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका लागि करिब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गते (आज)देखि आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाले भर्न पाउँछन् ।

कम्पनीले हाल द्वितीय चरणमा रु. १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो । त्यस मध्ये सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात ६० करोड बराबरको ६० लाख कित्ता शेयर स्थानीयका लागि निष्कासन गरिएको हो ।

बैशाख २१ गतेदेखि निश्कासन गरिएको आइपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । स्थानीयबासीले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन् ।आम सर्वसाधारणकालागि थप ९० करोडको शेयर पछि जारी गर्ने कम्पनीको योजना छ ।

अहिले निष्कासन गरिएको शेयरमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५(साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरिएको हो हो ।

यसैगरी जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण शेयरहरुमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि आइपीओ निश्कासन भने केही पछि गरिने बताइएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ ।

निर्माणाधीन यस आयोजनाकोअद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ ।
आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सह निश्कासन तथा बिक्री प्रबन्धकको रुप्मा प्रभू क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।

प्रतिक्रिया