पोखरा – गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुने लोक प्रतिभा खोज प्रतियोगिता ‘प्रथम गण्डकी लोक तारा’ को तयारी तीव्र भएको छ। लोक संस्कृति संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, प्रदेश कार्य समिति गण्डकी पोखराको आयोजनामा हुन लागेको प्रतियोगिताको फाइनल आगामी २०८२ असार ७ गते, शनिबार (विश्व संगीत दिवस) का दिन पोखरामा हुनेछ।
प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। पहिलो पुरस्कारको रुपमा विजेताले रु ५१,१११ प्राप्त गर्नेछ भने दोस्रोले रु ३१,१११ तेस्रोले रु २१,१११ र सान्त्वना पुरस्कारको रुपमा रु ११,१११ प्राप्त गर्नेछन्।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा अडिसनका लागि संयोजकहरूको व्यवस्था गरिएको छ। कास्कीमा तुलसी क्षेत्री, स्याङ्जामा नेत्र खड्का, पर्वतमा पूजा शर्मा कार्की, बागलुङमा सरस्वती खड्का परियार, म्याग्दीमा ध्रुव जिसी,तनहुँमा श्रीराम गन्धर्व,लमजुङमा अनुज अधिकारी, गोरखामा हरिराम परियार र नवलपुरमा वुद्धिनाथ घिमिरेलाई सम्पर्क व्यक्तित्व किएको छ ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ नारासहित आयोजना गरिने यो कार्यक्रमले गण्डकी प्रदेशका नवप्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको छ।