काठमाण्डौ – काठमाण्डौ– सरकारले पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेसका युवा नेता जोशीको उपचारमा सघाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पतालमा आएर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए ।
उपप्रम पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा अपडेट गराएका थिए ।
गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो। तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको छ ।