काठमाडाैं - बुटवल–नारायणगढ 113 किलोमिटर लामो सडक स्तरोन्नति कार्य चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको छ। आर्थिक वर्ष २०७५/७६ मा सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य थियो, तर हालसम्म करिब ५३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो आयोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना स्टेट कम्पनीले जिम्मा लिएको हो।
२०७५ चैतमा सम्झौता भई २०७९ साउनमा सम्पन्न गर्ने लक्ष्य भए पनि कम्पनीको लापरवाही र विभिन्न बहानाले सडक निर्माणमा ढिलाइ भएको सरकारी अधिकारीहरूले बताएका छन्। बुटवल–नारायणगढ सडक आयोजनाका निर्देशक चूडाराज ढकालका अनुसार निर्माण कम्पनीले पैसाको अभाव देखाउँदै काममा ढिलाइ गरेको छ। आयोजनाले आवश्यक भुक्तानी नियमित गरिरहेको भए पनि कम्पनीले कामलाई गति दिन सकेको छैन।
सरकारी अधिकारीहरूले चिनियाँ दूतावासको सहयोगमा काम सम्पन्न गराउन अनुरोध गर्दै आएका छन्। कम्पनीले कम दररेटमा ठेक्का लिएकाले घाटा भएको बताउँदै आएका छन्, तर सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने सरकारी अधिकारीहरूको भनाइ छ।
पटक–पटक म्याद थप हुँदा पनि हालसम्म करिब ५३ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो राजमार्ग लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका लागि मुख्य मार्ग भएकाले यसमा यात्रुहरूको उच्च चाप रहन्छ र ढिलाइले गर्दा उनीहरूलाई असुविधा भइरहेको छ।
एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋणमा अघि बढाइएको यो आयोजनाको लागत १६ अर्ब ९९ करोड रुपैयाँ छ। सरकारले ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजदरमा एडिबीसँग ऋण लिएको हो। सडकलाई पूर्वी र पश्चिम गरी दुई खण्डमा बाँडेर स्तरोन्नति कार्य भइरहेकामा, निर्धारित म्याद पटक–पटक थपिएको छ। हाल म्याद २०२४ जुलाई २३ सम्म पुर्याइएको छ।