काठमाण्डौ । देशकै प्रधानमन्त्रीले मेरो ज्यानलाई खतरा छ भन्नु कत्तिको शोभनिय हुन्छ ? पक्कै हुँदैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथि शारीरिक हमला हुन सक्ने बताउनु भएको छ ।
पोखरामा आज भएको अगुवा भेलालाई सम्बोधन गर्दै ओलीले आफुलाई कसैले प्रहार गरे अनौठो नमान्न समेत आग्रह गरे । यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।
‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।
तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो।
‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्याउन हुन्न,’ उनले भने। सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।