काठमाण्डौ–अर्थ मन्त्रालयले अर्धवार्षिक मूल्यांकन सार्वजनिक गरेपछि नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्व तयारी सुरु भएको छ । ‘अर्को साता मौद्रिक नीतिका समीक्षा सार्वजनिक हुन्छ,’ उनले भने ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर कर्जामा हेरफेर हुन सक्ने अनुमान गरिएको छ । यद्यपी नेपाल राष्ट्र बैंकका अधिकारीले बजारमा प्रभाव पार्ने कुनै परिवर्तन नहुने बताएका छन् । सेयर धितो कर्जाको सीमा चलाउँदा त्यसको असर बजारमा देखिन्छ ।
मौद्रिक नीतिको मध्यावधि समीक्षामा अर्थतन्त्रको अवस्था, तरलताको अवस्था लगायतका विषयमा केन्द्रीत रही आवश्यक परे नीतिगत परिवर्तनहरु समेत गर्न सक्ने सम्भावना छ । फागुन ३ वा ४ गते राष्ट्र बैंक सञ्चालक समितिको बैठक छ ।सेयर धितो कर्जाको सीमा घटाउने वा यस्तै बजारलाई प्रभाव पार्ने कुनै नीतिगत व्यवस्था परिवर्तन नगर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।