काठमाडौं– कोभिड–१९ले मानव जीवनलाई नै आतंकित पारिरहेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट कार्यक्रमको सुरुवात गर्दैछन् ।
काठमाडौंका ११ वटा अस्पताल र सातै प्रदेशमा लगानी सरकारी तयारी छ । काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका स्वास्थ्यकर्मीले एकै पटक खोप लगाउनेछन् ।
शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरेका छन् । खोपको विषयमा भ्रम रहेकाले पहिला आँफूले लगाउने घोषणा गरेको उनले बताए ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।