ओली पक्षीय नेकपाको कार्यक्रममा सहभागी हुँदा २ सय रुपैयाँ भत्ता र खाजा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पछि नेकपाको दुवै पक्ष शक्ति प्रर्दशनमा उत्रिएको छ । प्रचण्ड¬–माधब नेपाल पक्ष ओलीको कदमको विरुद्धमा प्रर्दशन गरिरहेका छन् । प्रधानमन्त्री ओली समूहले आफ्नो पक्षमा जनमत देखाउन प्रर्दशन गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री ओली पक्षीय नेकपाको कार्यक्रममा भत्ता दिने प्रलोभन देखाएर मान्छे बटुलेको तथ्य बाहिर आएको छ । मंगलबार सप्तरी सदरमुकाम राजविराजमा आयोजना गरेको कार्यक्रममा दुई सय रुपैयाँ भत्ता र खाजा खुवाउने सर्तमा विभिन्न गाउँबाट सदरमुकाममा मान्छे उतारेको पाइएको हो ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुरका भोला सदाले दुई सय रुपैयाँ भत्ता पाइने आशमा १० किलोमिटर टाढाबाट आएको बताए ।
प्रतिव्यक्ति २ सय रुपैयाँ दिने र खाजा दिने भन्दै आफूहरुलाई यहाँ ल्याइएको छ’ भोलाले भने, ‘अहिले जाडोमा कुनै काम पनि पाउँदिनँ । कम्तिमा २ सय रुपैयाँ त आउँछ भनेर आएको हुँ ।’ भोलासँगै बसिरहेकी सोही ठाउँकी मुक्तादेवी सदाले आफूहरुको घर नजिकै ट्याक्टर पठाएर स्थानीय नेता दुर्गा ठाकुरले कार्यक्रममा ल्याएको बताइन् । सत्तापक्षीय नेकपाको प्रदर्शनमा तिरहुत गाउँपालिका वडा नम्बर ३ गोइठीबाट झण्डै ६० जना मुसहर समुदायका व्यक्ति पनि आएका छन् । उनीहरुलाई पनि खाजा दिने गरी स्थानीय नेताले यहाँ ल्याएका हुन् । ‘हामीलाई बस चढाएर यहाँ ल्याइएको छ’ गोइठीबाट आएका परमेश्वर सदाले भने, ‘खाजा खान भन्दै स्थानीय उमेश डाक्टरले ४ हजार रुपैयाँ दिएका छन् । त्यो रुपैयाँको खाजा किनिसकेका छौं । अब सभा सकिएपछि खाएर घर फर्किने हो ।’

कार्यक्रममा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल, मन्त्रीहरु प्रभु साह, लीलानाथ श्रेष्ठ, जुली महतो, नेताहरु रघुबीर महासेठ, सत्यनारायण मण्डल, सुमनराज प्याकुरेलसमेतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया