काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि आवश्यक प्रक्रियागत कामहरू भैरहवा र पोखराबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ।
श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूको प्रतिनिधिहरूसहितको बैठकले यो निर्णय गरेको हो, जसअनुसार मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको छ।
मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
यस निर्देशपछि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति, र भिसासँग सम्बन्धित कामका लागि काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य हुनेछ।
सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूका लागि सम्बन्धित कार्यालयले व्यवस्थापन गर्ने र श्रम स्वीकृति लगायतका सेवाहरूलाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता उप्रेतीले जनाए।
यसका लागि ऐन, नियम, कार्यविधिमा केही संशोधन गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्नेछ।