वैदेशिक रोजगारका लागि अब काठमाडौँ आइरहनु नपर्ने, पोखरा र भैरहवामा सेवा सुरु हुँदै

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि आवश्यक प्रक्रियागत कामहरू भैरहवा र पोखराबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ।

श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूको प्रतिनिधिहरूसहितको बैठकले यो निर्णय गरेको हो, जसअनुसार मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको छ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

यस निर्देशपछि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति, र भिसासँग सम्बन्धित कामका लागि काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य हुनेछ।

सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरूका लागि सम्बन्धित कार्यालयले व्यवस्थापन गर्ने र श्रम स्वीकृति लगायतका सेवाहरूलाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता उप्रेतीले जनाए।

यसका लागि ऐन, नियम, कार्यविधिमा केही संशोधन गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय