चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार उल्लेखनीय रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म बीमा कम्पनीहरूले सबै मिलाएर ९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २६.५५ प्रतिशत बढी हो। गत वर्ष यो रकम ७ अर्ब ५३ करोड रुपैयाँको हाराहारीमा थियो।
धेरै जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय विस्तार गर्न सफल देखिए पनि दुई कम्पनीको व्यापार भने घटेको छ। प्राधिकरणका अनुसार हिमालयन लाइफको प्रथम बीमा शुल्क ८.४३ प्रतिशतले घटेर ५४ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने सन नेपाल लाइफको शुल्क ४.६९ प्रतिशतले घट्दै १९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।
नयाँ व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ अग्रस्थानमा छ। तीन महिनामा नै कम्पनीले २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी नयाँ व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलना गर्दा ४२ प्रतिशत बढी हो। त्यसैगरी नेशनल लाइफ दोस्रो स्थानमा रहँदै १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ, जसमा करिब १८.७२ प्रतिशत वृद्धि देखिएको छ।
आइएमई लाइफले यस अवधिमा सबैभन्दा तीव्र वृद्धि देखाएको छ। कम्पनीले प्रथम बीमा शुल्क ७० प्रतिशतभन्दा बढी बढाएर ४२ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्षको सोही अवधिमा यसले २४ करोड ८८ लाख रुपैयाँ मात्र संकलन गरेको थियो।
यस्तै, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, सानिमा रिलायन्स, राष्ट्रिय जीवन बीमा, प्रभू महालक्ष्मी, मेट लाइफ र सूर्यज्योति लाइफले पनि विभिन्न दरमा नयाँ व्यापार विस्तार गरेका छन्। यी कम्पनीहरूको वृद्धि ५ प्रतिशतदेखि ३८ प्रतिशतबीच देखिएको प्राधिकरणले जनाएको छ।