निफ्राको आईपीओमा साढे ६ करोड कित्ता बढी आवेदन

काठमाण्डौ–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा करिब साढे ६ करोड कित्ता बढी आवेदन परेको छ । निफ्राले सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आइपीओ आह्वान गरेकोमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरिद आवेदन परेको छ । ६ करोड ६१ लाख १२ हजार १ सय ४० कित्ता बढी आवेदन परेको छ ।यो सोमबार साँझसम्मको आवेदन हो ।

यो बैंकले गत पुस २ गतेबाट कुल ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ । कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । त्यसैगरी, ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। आईपीओमा भोलि माघ ६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा आर्जन गरेको छ । बैंकले २० अर्बको ’निफ्रा डेब्ड फण्ड’ स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ । यो बन्ड ५ अर्बको हुनेछ । बैंकले आफ्नो अगुवाइमा लगानी गर्न जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ ।

कम्पनीको कुल सेयरमा १० प्रतिशत हिस्सा नेपाल सरकारको छ । बाँकी अन्य बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको इक्विटी लगानी गरेका छन् । बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशीलगायत रहेका छन् । साधारण सेयर जारी गरेपछि सञ्चालक समितिमा तीन जना सर्वसाधारणबाट सञ्चालक बन्ने छन् ।

बैंकले आर्थिक वर्ष २०७९र८० सम्ममा सञ्चित नाफा १ अर्ब ५९ करोड ९६ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा सञ्चित नाफा ९ करोड ४५ लाख ६३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५र७६ मा ६२ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित नाफा १ अर्ब २३ करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ । चालू आर्थिक वर्ष २०७७र७८ मा बैंकले १ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८र७९ मा १ अर्ब ३७ करोड ९ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९र८० सम्ममा प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा रहेको छ ।
चालु आर्थिक वर्षमा बैंक प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ६९ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया