काठमाडौं — साउथ इन्डियन गीतजस्तै आकर्षक नृत्य रहेको एक नेपाली लोकदोहोरी गीत ‘जुन तारा झिलिमिली’ सार्वजनिक भएको छ। गीतको भिडियो तथा संगीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान खिच्न सफल भएको छ।
हाल नेपाली सांगीतिक क्षेत्रमा देखिएको चलायमानतामा विदेशमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय योगदान रहेको छ। सिर्जना र लगानीको हिसाबले पनि प्रवासमा रहेका नेपालीहरूले निरन्तर नेपाली संगीतको प्रवाहलाई सशक्त बनाउँदै आएका छन्।
यस्तै, जापनलाई कर्मभूमि बनाएका युवा सर्जक सुदर्शन सुवेदीको नयाँ गीत ‘जुन तारा झिलिमिली’ हालै मात्र सार्वजनिक भएको हो। सर्जक सुवेदीले लोकदोहोरीमा नयाँ प्रयोग गर्दै फ्युजन शैलीमा गीत प्रस्तुत गरेका छन्।
गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट बनेको भन्दै छोटो समयमा नै श्रोताले राम्रो प्रतिक्रिया दिएका छन्। भिडियो निर्देशन चर्चित निर्देशक जेरी भण्डारीले गरेका छन्, जसमा साउथ इन्डियन झल्को दिने शैलीमा नृत्य संयोजन गरिएको छ।
सर्जक सुवेदीले गीतबाट आर्थिक लाभभन्दा पनि आफ्नो गीत–संगीतप्रतिको लगाव र नेपाली संगीतप्रतिको पुरानो रुचिका कारण ठूलो लगानीमा गीत निर्माण गरिएको जानकारी दिनुभयो। युवापुस्तालाई लक्षित गर्दै गीत तयार गरिएको बताउँदै उहाँले समर्पित टोलीको समन्वयले गीत उत्कृष्ट बनेको उल्लेख गर्नुभयो। दर्शक स्रोताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको पनि उहाँले बताउनुभयो।
गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियार र गायक सुमन विटिको स्वर रहेको छ। लय तथा शब्द सुदर्शन सुवेदीकै रहेको गीतमा संगीत संयोजन राजु विश्वकर्माले गरेका छन्।
भिडियोमा सुरेश कोहली र रचना न्यौपानेको अभिनय रहेको छ भने छायांकन नवराज उप्रेतिले गरेका हुन्। मोडलहरूद्वारा प्रस्तुत गरिएको आकर्षक नृत्यले भिडियोलाई थप जीवन्त बनाएको छ। मायाप्रेमको विषयमा आधारित यो गीत सुदर्शन सुवेदीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। Click Here for song