काठमाडौं–दर्जन बढी जलविद्युत आयोजना निर्माण गरिरहेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले करिव सवा दुई अर्ब रुपैयाँको सेयर जारी गर्ने तयारी गरेको छ ।
४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको एचआईडीसीएले सर्वसाधारणलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि कम्पनीको रेटिङ भइरहेको छ । माघभित्रै हकप्रद सेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।
कम्पनल्ेि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सो मध्ये सरकारका तर्फबाट ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भएको कम्पनीले जनाएको छ । तीनवटा बैंकबाट ३ अर्ब ३० करोड रुपैयाँ प्राप्त हुने प्रक्रियामा रहेको छ ।कम्पनीको लगानीमा ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आएका छन् । चालू आर्थिक वर्षभित्रै कुल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने चरणमा रहेको सीईओ पोखरेलले बताए । अन्य पाँच आयोजना निर्माणाधीन रहेका छन् ।
स्वपुँजीतर्फ १ हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
अहिले एचआईडीसीएलको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी २२ अर्ब र चुक्तापुँजी १६ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीले हालसम्म ८ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरी ५ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । सेयरधनीले ६ अर्ब २८ करोड रुपैयाँ लाभांश प्राप्त गरेका छन् ।