दैलेख— दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार नौ सय ३० मिटर ड्रिलिङ सम्पन्न भएको छ भने अब ७० मिटर मात्र खन्न बाँकी छ।
गत वैशाख २८ गतेदेखि सुरु भएको ड्रिलिङ यसै महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार निर्धारित समयभन्दा अगावै ड्रिलिङ सक्ने प्रयास भइरहेको छ।
यो परियोजना चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा सञ्चालनमा छ। परियोजना कार्यान्वयनका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले संयुक्त रूपमा उत्खनन कार्य गरिरहेको छ।
ड्रिलिङको पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएको समयमै सम्पन्न गरेको थियो। ड्रिलिङको काम पनि समयमै सक्ने योजना रहेको बताइएको छ।
भैरवी गाउँपालिकामा भइरहेको अन्वेषणमा विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले सहकार्य गरिरहेका छन्। चिनियाँ प्राविधिक टोलीको सक्रियतामा अन्वेषण कार्य तीव्रताका साथ अघि बढिरहेको छ।