काठमाडौं– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने बताएका छन् ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेकाले अदालतले ओलीको असंवैधानिक कदमलाई सच्चाउने दाबी गरे ।
नेता थापाले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे। असंवैधानिक कदमविरुद्ध कांग्रेस दह्रो गरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताए ।
संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताए।
कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाइ छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले उल्लेख गरे ।
नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।