आलोचना पछि उपप्रधानमन्त्री पोखरलका सम्धी वाणिज्य बैंकको अध्यक्ष भएनन्, धनिराम बने अध्यक्ष

काठमाडौं–चौतर्फी बिरोध पछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धि प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड अध्यक्ष बनाउने प्रयास विफल भएको छ । पोखरेलका सम्धि कोइरालालाई अध्यक्ष बनाउने उद्देस्यले सञ्चालक समितिको सदस्य बनाएको भन्दै आलोचना भएको थियो । त्यसपछि अहिले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्षमा धनिराम शर्मा नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई अध्यक्ष बनाउने प्रयास भएको भन्दै चर्काे विरोध भएको थियो । बैंकका अध्यक्षमा निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा पठाएपछि अध्यक्ष पद रिक्त थियो ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया