सिंगटी इनर्जीले साढे ४३ करोडको आईपीओ निष्कासन गर्ने

काठमाण्डौं–बैंक,बीमा कम्पनी, पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) धमाधम निष्कासन गरिरहेको बेला एक जलविद्युत् कम्पनीले पनि आईपीओ निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अब ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

बोर्ड पुस २१ सिंगटी हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सिंगटीले दोलखामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिररहेको छ । अब सिंगटीले आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ।

यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत हिस्सा रहनेछ। जसअनुसार संस्थापक समूहको कुल सेयर १ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएकाले अब केही समयमा आईपीओ निष्कासन गर्ने तयारी छ । मिति तय गर्ने प्रक्रियामा रहेको मेघा क्यापिटलले जनाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

प्रतिक्रिया