नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित

काठमाडौं–कोभिडले विश्व अर्थतन्त्रमा पारेको असरसँगै त्यसको प्रभाव नेपालमा पनि परेको छ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर करिब ७ प्रतिशत हुने प्रक्षेपण गरिरहेको अवस्थामा मुलुकको आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार चालु आर्थिक वर्ष ०७७÷७८ (सन् २०२०(२०२१)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशतमा सिमित रहने जनाएको छ । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि बजेटमार्फत गरेको थियो ।

विश्व बैंकका अनुसार अघिल्लो गत आव ०७६÷७७ (२०१९र२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान छ । यो आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।

विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ ।
विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ । खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ । सन् २०२० मा भने आर्थिक वृद्धिदर ४.३ प्रतिशतले संकुचित बनेको छ ।

यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।

प्रतिक्रिया