संविधान कुल्चिँदा पनि चुप, सुवास नेम्वाङप्रति दया लाग्यो–गगन थापा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चेर असंवैधानिक कदम चाल्दा पनि तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेवाङ चुप लागेकोमा नेपाली कांग्रेसका नेता गगन थापाले आश्चार्य व्यक्त गरेका छन । कांग्रेस नेता थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहताप्रति दया लागेको टिप्पणी गरेका छन ।

प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको आरोप छ । ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,’ थापाले बुधबार बिहान ट्वीट गर्दै लेखेका छन ।

यस्तो संकटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापाको धारणा छ ।
‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ,’ थापाले ट्वीटमा लेखेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ । आफैँले बनाएको संविधानमा ’’कू’’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ।’ नेम्वाङ प्रधानमन्त्री ओली निकट भएकाले बोलेका छैनन् ।

गगन थापाले प्रधानमन्त्रीको कदल असंवैधानिक भएकाले संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया