महंगो सिईओ, तलब सुबिधा वार्षिक पौने ३ करोड

काठमाडौं–नेपालको संविधान अनुसार वरियतामा राष्ट्रपति एक नम्बरमा हुन्छन् । तलबका हिसाबले सरकारी निकायमा सबैभन्दा धेरै तलब खाने पनि राष्ट्रपति नै हुन् । आम जिज्ञासा हुनसक्छ । मुलुकको राष्ट्रपतिको तलब कति होला ?सम्मान, राजनीतिक पहुँच, दपीय मर्यादा अरु सबै हिसाबले राष्ट्रपतिको छुट्टै गरिमा छ । अन्य कुरालाई तुलना गर्न छाडेर मासिक तलबका आधारमा मात्र हेर्ने हो भने राष्ट्रपतिको तलब एक बैंकको प्रमुख कार्यकारी अधिकृतको भन्दा कम हुन्छ ।

नेपालका राष्ट्रपतिको तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब मात्र हेर्ने हो दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ ।

तर एउटा बैंकको सिइओले तलब, भत्तालगायत अन्य सेवा सुविधा बापत ३१ लाख ७५ हजार रुपैयाँ एक महिनामै बुझ्छन् । ती महंगो सिइओ हुन्–बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त ।

पन्तले गत आर्थिक वर्ष ०७६÷७७मा तलब सुविधा बापत २ करोड ८१ लाख तीन हजार ७९० रुपैयाँ बुझेका छन् । पन्तले गत वर्ष तलब सुविधा, कर्मचारी सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी सुविधा तथा बोनस ऐन बमोजिमको बोनससहित उक्त रकम बुझेका हुन् । अघिल्लो वर्ष भन्दा पन्तको सुविधा गत वर्ष बढेको छ । अघिल्लो वर्ष पन्तले यही सुविधाबापत २ करोड ३२ लाख रुपैयाँ बुझेका थिए ।

वाणिज्य बैंकका सीईओहरूको तलब बढी भएको भन्दै अघिल्लो वर्ष संसदीय समितिमा निकै चर्चा भयो । यसवारे संसद्को अर्थ समितिले राष्ट्र बैंकका पदाधिकारी एवम् बैंकर्स संघका प्रतिनिधिसँग छलफल समेत गरेको थियो । यो वर्ष कोरोना महामारीका कारण अन्य क्षेत्रको आम्दानी समेत व्यापक रुपमा कमी आएको छ । तर, अपवाद बाहेक बैंकका सीईओहरूको तलब भने यो वर्ष पनि उच्च रुपमा बढेको छ ।

प्रतिक्रिया