कृषिमा विदेशी लगानी खुल्ला, स्वदेशी लगानी डुबाउन लागेको आरोप

काठमाडौं–कृषिमा विदेशी लगानी खुल्ला गरेर स्वदेशी लगानीकर्ताको लगानी डुबाउने खेल सुरु भएको दूग्ध उत्पादक तथा डेरी उद्योगीले आरोप लगाएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी ‘विदेशी लगानी सम्बन्धी ऐन,२०७५को दफा ५० संशोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पशुपन्छी पालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा ७५ प्रतिशत निर्यात गर्ने सर्तमा लगानी खुल्ला गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

सरकारको यो निर्णयले स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको बताएका छन् । विगतमा संसदीय समितिले रोकेको विषय अहिले सरकारले अध्यादेशमार्फत कृषि तथा पशुपालनमा विदेशी लगानी खुल्ला गरेको छ । कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने निर्णयले कृषिमा आश्रित ठूलो जनसंख्याको आयस्रोत गुम्ने भन्दै डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय फिर्ता गर्न माग गरेका छन् ।

डेरी उद्योग संघ नेपाल, केन्द्रीय दुग्ध सहकारी संघ, पशुपालन सहकारी संघ, नेपाल डेरी एशोसिएसन लगायतका संस्थाले यस्तो माग गरेका छन् ।
डेरी उद्योगमा ३० अर्ब, मौरी पालनमा ४ अर्ब, मत्स्य पालनमा ११ अर्ब, कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी रहेको बताइन्छ । यी क्षेत्रमा विदेशी लगानी आए प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको जिकिर छ । यो क्षेत्रले करिब १५ लाख रोजगारी सृजना गरेको दाबी गर्दै आएका छ । स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्तसहित डेरी उद्योग, पशुपन्छीपालन, माहुरीपालन, माछापालन, फलफूल तरकारी आदि र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि बिरोध जनाएका हुन् ।

प्रतिक्रिया