करको विवरण र बैंकको व्याज भुक्तानी गर्ने समय बढाउन माग

काठमाडौं– उद्योगी, व्यवसायीले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको सांवा व्याज भुक्तानी गर्ने समय बढाउन अर्थमन्त्री विष्णु पौडेलसँग माग गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले आज अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर यस्तो आग्रह गरेका हुन् । सरकारका तर्फबाट तत्काल संवोधन हुनुपर्ने अन्य विषयको बारेमा पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

महासंघका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आर्थिक बर्षको लेखा परिक्षण गरिएको प्रतिवेदन सहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । गत बर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक बर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न बताउँदै बिवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेका हुन् ।

त्यसैगरी, भेटवार्तामा महासंघका तर्फबाट बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको बताएका थिए । लकडाउनबाट विशेषगरि साना मझौला उद्योग बढि प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पुर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पौष मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन माग गरे ।
सो अवसरमा अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिए ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति संदीप अग्रवाल, अर्थमन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछानेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया