मुलुकमा सहकारीको संंख्या घट्यो, पौने पाँच खर्ब कारोबार

काठमाडौं–मुलुकमा सहकारी संख्या घटेको छ । सहकारीको संख्या करिब ३४ हजार रहेकोमा पछिल्लो समय सहकारी संस्थाहरु मर्जरमा गएको र केही बन्द भएकाले संख्या घटेको हो । । सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेलाई बुझाएको सहकारी झलक,२०७७ अध्ययन प्रतिवेदन अनुसार सहकारीको संख्या घटेर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी रहेको पाइएको छ । ती सहकारीमा करिब पौने पाँच खर्ब रुपैयाँको कारोबार भएको छ ।

सहकारी विभागले मुलुकभरी रहेका सहकारी संघरसंस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागका अनुसार अब मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरू, २० वटा विषयगत केन्द्रीय संघहरू, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू रहेका छन् ।

मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या वृद्धि भएका छन् । विगतमा करिब ६६ लाख सदस्य रहेकामा अहिले बढेर ७३ लाख ७ हजार ४ सय ६२ सदस्य पुगेका छन । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।

सहकारी संघसंस्थाहरुले ठूलो रकम परिचालन गर्दै आएका छन् । सहकारीमा कूल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको पाइएको छ । सहकारी संघरसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया